काठमाडौँ, वैशाख २६ (ई-रैवार)
नेपालमा आज थप ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जनागरी ८ हजार ८५० कोरोना पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप ३६ गरी ८८ संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार २२ जना कोरोना संक्रमणमुक्त भएका जनाइएको छ । नेपालमा कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ । जसमध्ये ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा र ८१ हजार ४३० जना होम आइसोलेसनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



