पोखरा, वैशाख २६ (ई-रैवार)
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् ।
प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् । यस्तै उनले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् ।
प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
गुरुङमाथि प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला मुख्यमन्त्रीले अकस्मात राजीनामा दिएका हुन् ।



