काठमाडौं, वैशाख २२ (ई-रैवार)
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गर्दा सभापति देउवाले अस्वीकार गरेका हुन् ।
पार्टीका नेताहरुसहित बुधबार अपरान्ह नेपाली कांग्रेसका सभापति देउवा निवास पुगेका प्रधानमन्त्री ओलीले आफुलाई विश्वासको मतमा सहयोग प्रस्ताव गरेका थिए । तर देउवाले सहयोग गर्न नसक्ने जवाफ दिएको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
बैठकपछि कांग्रेसका नेता महतले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सहयोग माग्नुभयो । प्रतिपक्ष भएकाले हामीले सहयोग गर्न नसक्ने कुरा स्पष्ट पार्यौं ।’
त्यसपछि ओलीले लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएकाले सहयोग गर्न आग्रह गरेका थिए । महतले बैठकमा भएका कुराबारे अगाडि भने, ‘लोकतन्त्रका लागि लडेका हौं हामी मिलेर जाउँ भन्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभएको थियो तर लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने काम तपाईंले गर्नुभएको छ भन्ने जवाफ दियौं ।’
प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मान्यताका कुरा गरे पनि व्यवहारमा नदेखिएको जवाफ कांग्रेसले दिएको महतले जानकारी दिए । सत्ता सहकार्य हुन नसक्ने जवाफ दिएको र अहिले त्यो अवस्था नै नभएको बताएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका थिए ।
प्रधानमन्त्री ओलीसँगको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला लगायतको सहभागिता थियो ।


