गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना पुष्टि : सभामा बोल्न नपाउने, मत हाल्न पाउने

गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना पुष्टि : सभामा बोल्न नपाउने, मत हाल्न पाउने
Spread the love

पोखरा, वैशाख १५ (ई-रैवार)

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गर्नेसहित तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबारको प्रदेश सभा बैठकमा कोरोना संक्रमणको जोखिम रहेका कारण अनिवार्य पीसीआर परीक्षण गरिनुपर्ने माग गरेका सांसद राजीव पहारीसहित प्रभा कोइराला र मनकुमारी गुरुङलाई संक्रमण पुष्टि भएको हो ।

प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन मंगलबार सत्तारुढ एमाले सांसदले पिसिआर परिक्षण गर्न माग गर्दै संसद अवरोध गरेपछि मंगलबार नै उनीहरुको स्वाब लिएको थियो। यद्यपि, प्रदेश स्वास्थ्य निर्देशनालयले भने यसबारे जानकारी दिइसकेको छैन । स्रोतका अनुसार तीन सांसदलाई कोरोना पुष्टि भएको हो । प्रदेशसभा सचिवालयकै एक कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभा बैठकमा भाग लिन पाउने छैनन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान गर्नबाट भने उनीहरुलाई वञ्चित नगरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

उनीहरु आफ्नै निजी सवारीमा आएर मतदानमा भाग लिन पाउने छन् । पीसीआर रिपोर्ट पोजेटिभ आएका सांसदले संसदका अन्य प्रक्रियामा भने भाग लिन पाउने छैनन् ।

सभामुख नेत्रनाथ अधिकारीले ३ सांसद र एक कर्मचारीलाई संक्रमण भएको पुष्टि गर्दै प्रदेश सभाको बैठक भने प्रभावित नहुने बताए । ‘संसद बैठक निर्धारित समयमै सुरु हुन्छ, माननीयलाई बोल्न दिने, मत हाल्न दिने हिजो नै सहमति भएको हो,’ सभामुख अधिकारीले भने, ‘कोरोना देखिँदैमा संसदको कार्यसूची तलमाथि नहुने बताए ।

पहिलो दिनको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । अविश्वासको प्रस्तावमाथि छलफल भएको बैठक आज दिउँसो १ बजे पुनः बस्दैछ ।

सोमबारदेखि सुरु भएको प्रदेशसभामा दोस्रो दिन अर्थात् मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो । सत्तारुढ दल नेकपा ९एमाले०को अवरोधका कारण मंगलबारको प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।