काठमाडौं, वैशाख १० (ई-रैवार)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् । स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका नेताहरु भने छैनन् । शुक्रबार बालुवाटरामा आयोजित महाधिवशेन आयोजक समितिको बैठकले नेकपा एमालेको स्थायी कमिटी पुनगर्ठन गरेको हो ।
केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाइपास गरेर एकलौटीरुपमा स्थायी कमिटी पुगर्नठन गरेका हुन ।
स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।
स्थायी कमिटीमा वामदेव गौतमलाई राखिएको छ । यसअघि बिहीबार बेलुका ओलीसँग डिनर भेटमा रहेका नेता वामदेव गौतमलाई भने स्थायी कमिटी सदस्य बनाइएको छ । माओवादीबाट एमाले प्रवेश गरेकाहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी र मणि थापा एमाले स्थायी कमिटीमा समेटिएका छन्।
बिहीबार नै नेता माधवकुमार नेपालसँग पनि ओलीले छलफल गरेका थिए । तर नेपालले ओलीसँगको वार्तापछि सहमतिको कुनै संकेत नदेखेको बताएका थिए ।
यसअघि एमालेका खनाल-नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, याेगेश भट्टराई, गाेकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्याैपाने सदस्य थिए। तर उनीहरू कसैलाई पनि स्थायी कमिटीमा समेटिएकाे छैन।
एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।


