नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि, १४ जिल्लामा स्कुल बन्द नगरे लकडाउन गर्नुपर्ने

नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि, १४ जिल्लामा स्कुल बन्द नगरे लकडाउन गर्नुपर्ने
Spread the love

काठमाडौं,  वैशाख २ (ई-रैवार)

नेपालमा आज थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३र१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०र१० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ भने कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।

१४ जिल्लामा भोलिदेखि स्कुल बन्द नगरे लकडाउन गर्नुपर्ने 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी क्षेत्रमा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ ।

अति प्रभावित १४ जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् । त्यहाँका सहरी क्षेत्रका विद्यालय बन्द गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

“त्यहाँ विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ,” उनले भने, “त्यसैले विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ ।”

यसअघि मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले अपिल जारी गर्दै भीडभाड हुने क्षेत्र तत्काल बन्द गर्न भनेका थिए । १४ जिल्ला अति प्रभावित भएकाले सचेत रहन उनको अपिलमा आग्रह छ ।

“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन,” उनले अपिलमा भनेका छन् ।