काठमाडौं,फागुन १९ (ई-रैवार)
सरकार र नेकपा विप्लव समूहबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिबीचको दोस्रो चरणको वार्ता सकिएको हो ।
दोस्रो चरणको वार्ता बुधबार साँझ सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार वार्ता बिषय केन्द्रित भएको र दुबै पक्ष समान धारणा नजिक पुगेका छन् । उनले भने, “छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।”
बुधबार बिहान पहिलो चरणको वार्ता भएको थियो । पहिलो चरणको वार्तापछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वार्ता सकारात्मक दिशामा उन्मुख भइरहेको बताएका थिए । उनले वार्तामार्फत सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेकाले परिणाम सकारात्म हुने अपेक्षा गरेका छन् ।
“मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।”
यसैबीच सम्पर्कमा आएका प्रकाण्डनिकट विप्लव समूहका एक नेताले भने वार्तामा पार्टीको राजनीतिक मुद्दाबारे अझै पनि ठोस कुराकानी भइनसकेको बताए । विप्लव समूहले प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेताकार्यकर्ताको रिहा पहिलो शर्त राखेको छ ।
‘पार्टीतर्फबाट प्रतिबन्ध फुकुवा गरौं भनियो, हिरासतरकारागारमा रहेका बन्दीलाई छाड्नुपर्ने माग राख्यौं’, उनले अनलाइनखबरसँग भने, ‘सरकारतर्फबाट हतियार बुझाउनुस् भनियो, हामीसँग हतियार नै नभएको जवाफ दियौं ।’
पार्टीले अघि सारेको वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबारे जनमत संग्रह गर्नुपर्ने मागबारे खासै कुरा नभएको उनी बताउँछन् । त्यसको विकल्पमा हाललाई ‘राष्ट्रिय स्वाधिनता र जनताका जनजीविकाको विषयमा सरकार–विद्रोही दुवै पक्षको भिजन जनतामा लैजाउँ र संयुक्त सरकारबाट अघि बढौं’ भन्ने प्रस्ताव राखिएको ती नेताको भनाइ थियो ।
मंगलबार सरकारले गृहमन्त्री बादलको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरि वार्ता टोली गठन गरेको थियो ।
त्यसैगरि विप्लव समूहले पनि मंगलबार नै प्रवक्ता खड्कप्रसाद विश्वकर्मा प्रकाण्डको संयोजकत्वमा उदय चलाउने दीपक सदस्य रहने गरि वार्ता टोली गठन गरेको थियो । विप्लव समूहको वार्ता टोली मंगलबार नै काठमाडौं आइपुगेको थियो । सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।


