काठमाडौं कात्तिक । भोटेकोशी र बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका बिच पनि नेपालको विद्युत् निर्यातमा भने सकारात्मक सुधार देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले गत असोजमा मात्र भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख रुपियाँँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको छ ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भारप्रेषण केन्द्र) को तथ्याङ्क अनुसार असोजमा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार आठ युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट पाँच अर्ब ९२ करोड ५० लाख रुपियाँ बराबरको कारोबार भएको विभागले जनाएको छ । २०८२ असोजमा भारततर्फ चार अर्ब ९६ करोड ३० लाख रुपियाँ बराबरको कारोबार भएको थियो । चालु आवको भदौमा यस्तो कारोबार रकम पाँच अर्ब नौ करोड २५ लाख रुपियाँ रहेको थियो । गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपियाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपियाँले बढेको छ । चालु आव २०८३/८४ को पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपियाँ बराबरको कारोबार भएको छ ।
भारततर्फ विद्युत् निर्यात दुई तरिकाले हुने गरेको छ । भारतको हरियाणा र विहार राज्यलाई द्विपक्षीय विद्युत् बिक्री सम्झौता अनुसार विद्युत् बिक्री हुन्छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार यी राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ ।
त्यस्तै भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा नेपालको बिजुली बिक्री हुने गरेको छ । प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको बर्खायामको विद्युत् प्रत्येक वर्ष भारत र बङ्गलादेशमा निर्यात गर्दै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौता अनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको जानकारी दिनुभयो । “बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भयो,” उहाँले भन्नुभयो, “तर आन्तरिक खपत र निर्यातका लागि सहज हुने गरी प्राधिकरणमार्फत भएको पनि तात्कालिक र वैकल्पिक व्यवस्थापनका कारण विद्युत् निर्यातमा प्रगति कायम भएको हो ।”


