धनगढी जेठ २४(ई-रैवार)
धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना जाँच गर्ने पीसीआर मेसिन छ । सोही अस्पतालमा मृत्यू भएकी एक महिलाको भने अन्त्यष्टीपछि कोरोना पुष्टि भएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ बर्षीय महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको हो ।
शुक्रवार दिउसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकोमा उनको आज बिहान अन्त्येष्टि भईसकेको वडा नम्वर ४ का अध्यक्ष दीपक थापाले बताए। उनले मोहना घाटमा उनको अन्त्येष्टि गरिएको तर कोरोना पुष्टिपछि मात्रै जानकारी पाएको बताए।
अन्त्येष्टि अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएकोमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।
‘मृत्युपछि चौधरी संस्कार अनुसार अन्त्येष्टि भईसकेको रहेछ,’ कार्कीले भने, ‘स्वास्थ्य कार्यालय अहिले ट्रेसिङमा जुटेको छ। अन्त्यष्टिमा सहभागी सबैलाई खोज्न भनेका छौ।’
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले पनि मृतकको अन्त्येष्टि भईसकेको बताउँदै ट्रेसिङको कार्य भईरहेको जानकारी दिए। कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव दिएर अन्त्यष्टि भएपछि अहिले मृतको टोलमा त्रास फैलिएको छ।
लामोसमयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन्। डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो।
मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो। मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरीएको छ। मृतक महिला यसअघि काठमाडौँबाट उपचार गराएर फर्किएकी थिईन्।


