भारतको राजनीतिक नक्साप्रति डोटीमा पनि विरोध

भारतको राजनीतिक नक्साप्रति डोटीमा पनि विरोध
Spread the love

डोटी कात्तिक २३(ई-रैवार)
भारतले सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्साप्रति डोटी जिल्लामा पनि विरोध भएको छ । राष्ट्रिय जनमोर्चाले शुक्रबार दिपायलमा कोणसभाको आयोजना गर्दै विरोध जनाएको हो ।
‘लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा राखेर भारतले नेपालको अपमान गरेको छ,’ कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटि कोषाध्यक्ष केशवनाथ योगीले भने,‘यसको हामी घोर निन्दा र भत्सर्ना गर्दछौ ।’ भारत नेपाली भूमिलाई अतिक्रमण गरेर पटक–पटक नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि हस्तक्षेपको प्रयत्न गरिरहेको उनले बताए । ‘हरेक देशलाई आफ्नो सीमाना र माटो प्रिय हुन्छ । त्यसमाथिको आक्रमण सह्य हुदैन्,’ उनले भने ।
भारतले जम्मु, कस्मिर र लद्दाखलाई केन्द्र सरकारको मातहतमा ल्याएसंगै केहीदिन अघि आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । जसमा नेपालको पश्चिमी सीमाना दार्चुलामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा देखाएपछि नेपालमा तीब्र आक्रोश उठिरहेको छ । जसको देशव्यापी बिरोध भईरहेको छ ।