संखुवासभामा बेपत्ता २० जना अझै फेला परेनन्

संखुवासभामा बेपत्ता २० जना अझै फेला परेनन्
Spread the love

संखुवासभा, असार।  शनिबार रातिको बाढीले संखुवासभाको पाँचखपन–९ स्थित सुपर हेवा खोला जलविद्युत् आयोजनामा कार्यरत १७ जना मजदुरसहित जिल्लाभर बेपत्ता २० जना अझै फेला परेका छैनन् ।हाइड्रोपावरका मजदुरको खोजीमा चार दिनदेखि २ सय ५० सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार सभापोखरीमा २ र नुनढाकीमा बेपत्ता १ जना पनि भेटिएका छैनन् । डीएसपी वीरेन्द्र गोदारका अनुसार हेवा खोला मिसिने सभाखोला गेग्रानले भरिएको छ । खाँदबारी र चैनपुर नगरपालिका जोड्ने सभाखोलाको ९० फिट अग्लो स्टिल पुल बाढीपछि बालुवा थुप्रिएर ४ फिट मात्रै माथि छ ।यहाँ आइतबार बिहानसम्म पानी पुलको माथि चढेको थियो । सभाखोलाको बहाव पुलभन्दा करिब २ सय मिटर तल अरुण नदीमा मिसिन्छ । खोला धेरै पुरिएकाले बेपत्ताको खोजीमा समस्या भइरहेको डीएसपी गोदारले बताए । मंगलबार चैनपुर–१० निगुरेमा एउटा शव भेटिएको छ । कम्मरभन्दा मुनिको भाग मात्र भेटिएका कारण शवको सनाखत हुन सकेको छैन ।