काठमाण्डौँ भदौ ७(ई-रैवार)
नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद टुंगिएको छ। क्रियाशील सदस्यताका सन्दर्भमा देखिएको विवाद समाधान गर्न गठित ३ सदस्यीय कार्यदलले विवाद समाधानको खाकासहित सोमबार बेलुकी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
कृष्ण सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मेलित कार्यदलले प्रतिवेदन बुझाएपछि क्रियाशील सदस्यताको विवाद टुंगिएको दाबी गरिएको छ।
पछिल्लो पटक बसेको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको विवाद समाधानका लागि सिटौला, रिजाल र लेखक रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको थियो। केन्द्रीय समिति बैठकले भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी कार्यदललाई दिएको थियो।
कार्यदलले क्रियाशील सदस्यताको विवाद टुंग्याउने खाकासहितको प्रतिवेदन आइतबार नै तयार पारिसकेको जनाएको थियो। तर, ुप्राविधिक विषयु टुंग्याउन बाँकी रहेको भन्दै सभापति देउवालाई आइतबार उक्त प्रतिवेदन बुझाइएको थिएन।


