बझाङ वैशाख ६(ई-रैवार)
बझाङमा फरक-फरक स्थानमा भएका घटनाहरुमा एकैदिन चारजनाको मृत्यु भएको छ। तीमध्ये २ जनाको भीरबाट लडेर मृत्यु भएको छ भने एकको चट्याङ लागेर र अर्का एकजना झुण्डिएको अवस्थामा फेला परेका छन।
मृत्यु हुनेमा तल्कोट गाँउपालिका–१ रैसेल्लीका २० वर्षीय राजु तामाङ र जाजरकोटका ४० वर्षीय खडक पुनको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले बताए।
तल्कोट–१ को ओखरे भीरबाट २५० मिटर तल खस्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। वैशाख ३ गते घरबाट सुर्मा गाँउपालिकाको धानसेरी जानका लागि हिँडेका दुवैैजना सम्पर्कमा नआएपछि खोजी गर्दा आइतबार राति दुवै जनालाई मृत अवस्थामा भेटिएको थियो।
यस्तै, आइतबार जिल्लाको जयपृथ्वी नगरपालिका–८, बारीलका ४८ वर्षीया गालु बोहराको चट्याङ लागेर मृत्यु भएको छ। जंगलमा दाउरा काट्न गएका बोहराको चट्याङ लागेर मृत्यु भएको आफन्तले बताएका छन्।
आइतबार नै दुर्गाथली गाँउपालिका–३ रकैलकी ११ वर्षीया बालिका अनीता दमाई मृत अवस्थामा फेला परेकी छिन्। घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी बालिकारुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बझाङमा फरक-फरक घटनामा एकैदिन चारजनाको मृत्यु


