सत्याग्रहको पाँचौं दिन : सरकारले कुनै चासो नदिएको आरोप, डा. केसीको जीवनरक्षा माग

सत्याग्रहको पाँचौं दिन : सरकारले कुनै चासो नदिएको आरोप, डा. केसीको जीवनरक्षा माग
Spread the love

काठमाडौं, आश्विन २ (ई-रैवार)

नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डा. गोविन्द केसीका जायज माग सम्बोधन गर्दै जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक संघले डा.  केसीको सत्याग्रहको पाँचौं दिन पुग्दासम्म पनि सरकारले कुनै  चासो नदिएको समेत आरोप लगाएको छ ।

संघले शुक्रबार (आज) विज्ञप्ति जारी गदै जुम्लाको चन्दननाथ नगरपालिका ६, रानीचौरस्थित बाबिरामस्ट मन्दिरमा गत भदौ २९ गते देखि १९ औं अनशनमा रहेका डा. केसीका मागका विषयमा कुनै चासो नदिएको भन्दै सरकारको ध्यानकर्षण गराएको हो ।

संघका महासचिव डा. बद्री रिजालले  जारी गरेको विज्ञप्तिमा डा. केसीका माग वार्तामार्फत् सम्बोधन गर्न भनिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायेज मागहरुको स्म्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’

गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायज मागको सम्बोधन गर्दै डा. केसी जीवनरक्षा गर्न चिकित्सकहरुले माग गरेका छन । साथै डा. केसीको स्वास्थ्य अबस्था जटिल हुँदै गएको  चिकित्सकहरुले बताएका छन ।