काठमाण्डौँ, मङ्सिर १५ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशले यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा जित निकालेसँगै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । प्रतियोगिता अन्तर्ग बुधबार भएको खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो ।
पाँच खेलमा ६ अङ्क जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । मुलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएको ९१ रनको लक्ष्य सुदूरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो ।
सुदूरपश्चिमलाई जित दिलाउन वसन्त कार्कीले अविजित रहँदै सर्वाधिक ३७ रनको योगदान गरे । त्यस्तै अर्जुन साउँदले अविजित ३२ रन जोडे ।
बलिङतर्फ प्रदेश १ का अभिनय राजवंशीले दुई विकेट लिए । त्यस्तै श्रवन किस्कु र अङ्कित सुवेदीले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २४ ओभरमा अलआउट हुदै मात्र ९० रन बनाएको थियो ।
प्रदेश १ का लागि कप्तान अङ्कित सुवेदीले ६१ अर्धशतकीय पारी खेले । उनीबाहेका ब्याटरले प्रदेश १ का लागि दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ सुदूपश्चिमका लागि शेर मल्लले सर्वाधिक ४ विकेट हात पारे । नरेन्द्र साउँदले ३ तथा कैलाश ऐरीले २ विकेट लिए ।
सुदूरपश्चिमले फाइनल प्रवेशका लागि अन्तिम खेल वाग्मती प्रदेशविरुद्ध शुक्रबार खेल्नेछ ।
यता प्रदेश १ ले पनि पाँचमध्ये तीन खेल जित्दै फाइनलको सम्भावना कायमै राखेको छ । प्रदेश १ ले आफ्नो अन्तिम खेल गण्डकी प्रदेशविरुद्ध बिहीबार खेल्नेछ ।


