सोल : उत्तर कोरियाली नेता किम जोङको स्वास्थ्य अवस्थाबारे समाचार आइरहँदा उनले भने केही प्रतिक्रिया दिएका छैनन् ।
यतिसम्म कि, किम कहाँ छन् भन्नेबारे पनि अनेक अड्कलवाजी मात्रै भइरहेको छ । हालै उनको विशेष रेल सहरको एक महंगो रिसोर्टमा रोकिराखेको समाचार आएको छ । उनको रेलको यस्तो तस्बिर अमेरिकी ‘३८ नर्थ’ नामको उत्तर कोरियाको निगरानी गर्दैआएको वेभसाइटले स्याटलाइट मार्फत खिचेको हो ।
शनिबार उक्त तस्बिरसहितको रिपोर्ट सार्वजनिक गर्दै उक्त सटेशन किमको परिवारका लागि रिजर्भ गरिएको जनाएको छ । वानसनस्थित रिसोर्टमा उनको रेल केही दिनदेखि रोकिराखेकोमा अनेक समाचार तथा अड्कलवाजी भएका छन् ।
तर उक्त तस्बिरले मात्रै किम त्यस रिसोर्टमा बसिराखेको पुष्टि गर्दैन । र स्वास्थ्य अवस्थाबारे पनि केही भन्न नसकिने अन्तर्राष्र्टिय मिडियाले जनाएका छन् । तर उक्त क्षेत्रमा किमको परिवार रहेको दावी गरिँदैआएको छ । १५ अप्रिलमा किमका हजुरबा किम संगको जन्मदिन नमनाएपछि नै किमको स्वास्थ्यबारे अनेक समाचार प्रकाशित छन् ।
यस्तैमा चीनले पनि चिकित्सक टोली हालै उत्तर कोरियातर्फ पठाएको जनाएको छ । २०११ मा किमका बाबुको निधन भएपछि किमले शासन सम्हाल्न थालेका हुन् । तर किमले आफ्नो उत्तराधिकारी घोषणा गरेका छैनन् ।
यद्यपि त्यहाँको कम्युनिस्ट पार्टीमा किमभन्दा तल्लो हैसियतमा उनकी बहिनी छिन् । यससँगै किमको निधनपछि त्यहाँको नेता को बन्ला भन्ने जस्ता टिप्पणी आउन थालेका छन् । यस्ता समाचारबारे किमको मौनतालाई लिएर थप टिप्पणी भएका छन् । यस्तैमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने किमको स्वास्थ्यबारे गलत समाचार आएको प्रतिक्रिया दिएका थिए ।
यद्यपि किम कहाँ छन्, कस्तो अवस्थामा छन् भन्नेबारे उत्तर कोरियाको कम्युनिस्ट पार्टीले कुनै सूचना जारी गरेको छैन । चीनले चिकित्सक टोली पठाएको खबरले पनि उनीबारे थप शंसय उत्पन्न गरेको छ ।


