दार्चुला, भदौ २५ (ई-रैवार)
दार्चुला जिल्लामा कुनै ट्राभल हिस्ट्री नभएका शैलुन व्यवसायीमा कोराना संक्रमण देखिएसँगै पूरै महाकाली नगरपालिका सिल गरिएको छ ।
महाकाली नगरपालिका–४ खलंगा क्षेत्रमा शैलुन (कपाल काट्ने सेन्टर) सञ्चालन गर्दै आएका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै बुधबार बेलुकी ७ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
अत्याबश्यक सेवाबाहेकका पसलहरु खोल्न नपाइने गरी सिल गरिएको हो । अत्यावश्यकीय सेवाहरु पनि बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ६ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न पाइने गरी नगरपालिकाको पूरै क्षेत्र सिल गरिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार प्रमुख जिल्ला अधिकारीले नगरपालिका सिल गरेका हुन् । औषधीका पसलहरु चौबीसै घण्टा खोल्न सक्ने र तोकिएको समयबाहेक अन्य समयमा कुनै किसिमको आवत् जावत् समेत गर्न नपाइने गरी सिल गरिएको छ ।
जिल्ला सदरमुकाम खलंगाका विभिन्न कपाल काट्ने शैलुनहरु यसअघि निर्वाध रुपमा सञ्चालनमा रहेका थिए ।


