प्रधानमन्त्री पदका लागि लालायित छैन : सभापति देउवा

प्रधानमन्त्री पदका लागि लालायित छैन : सभापति देउवा
Spread the love

काठमाडौं, वैशाख ५ (ई-रैवार) 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।  आफ्नै निवास बूढानीलकण्ठमा आइतबार श्रीराम श्रेष्ठद्वारा लिखित कृति ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै उनले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् ।

नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनको भनाइ छ । काँग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने सभापति देउवाले बताए ।

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए । ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनु भएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन,’ उनले भने, ‘त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौं । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन ।’

वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै उनले स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको पनि बताए । सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास सभापति देउवाले व्यक्त गरे ।