धनगढी, भदौ २३ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज १० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ सय ८८ नमुनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कञ्चनपुरका ६ र कैलालीका ४ जनामा संक्रमण पुष्टि भएको बताएका छन । उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ८ का २ जना, लम्कीचुहा नगरपालिका वडा नम्वर २ का १ जना र वडा नम्वर १ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ का ५ जना र वडा नम्वर ५ का १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा रहेको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय २२ नमुना मात्रै परीक्षण गरिएको छ ।
डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले पछिल्लो २४ घण्टामा १ सय ३५ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ।
त्येस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६९ जनाको कोरोना परीक्षण गरिएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।


