धनगढी, भदौ २१ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३१ जनामा संक्रमित थपिएका हुन ।
सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ सय ५३ जनाको कोरोना परीक्षण भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ७१ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ११ का ३ जना, वडा नम्बर २ का १ जना, कैलालीको धनगढी उपमहानगरपालिक वडा नम्बर २ का १ जना, कैलारी गाउँपालिका वडा नम्बर ३ का १ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कैलालीकै टीकापुर नगरपालिका ७ का १ जना र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन ।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८१ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले आज बझाङका १० र डडेल्धुराका २ गरी १२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन । उनका अनुसार बझाङको बुङ्गल नगरपालिकाका १० र डडेल्धुराको अमरगढी नगरपालिकाका २ जनामा संक्रमण देखिएको हो ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । १ सय १ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनका अनुसार अछामको तुर्माखाँद गाउँपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार २ सय १० पुगेको छ। संक्रमण पुष्टि भएका झण्डै ५ हजार १ सय जनाले कोरोना जितेका छन । सुदूरपश्चिम प्रदेशमा अहिले सम्म १४ जनाको मृत्यु भएको छ।


