धनगढी, भदौ ५ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप १ सय जनामा कोरोना संक्रमित थपिएका छन। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा र डोटी अस्पतालमा रहेको प्रयोगशाला र प्रदेश बाहिरका अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा थप १ सय जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय २९ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले जानकारी दिएका छन । संक्रमण पुष्टि हुनेमा डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका २ र जोरायल गाउँपालिकाका १ जना रहेका छन् ।
अछामको साँफेवगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १० र मेल्लेख गाउँपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएका छन। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ र बैतडीको सिगास गाउँपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय २६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण देखिएको छ। कैलालीका ३४ र अछामका २ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका ४ पुरुष रहेका छन् ।
अछामको बान्नीगढी जयगढका १ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्य विभिन्न प्रयोगशालमा भएको परीक्षणमा सुदूरपश्चिमका थप ८ जनामा संक्रमण पुष्टि भएको बताएका छन । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय १५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण पुष्टि भएका मध्ये ४ हजार ३ सय ४६ जनाले कोरोना जितेको छन भने अहिले सम्म सुदूरपश्चिम प्रदेशमा १२ जनाको मृत्यु भएको जनाएको छ ।


