काठमाडौं, भदौ २ (ई-रैवार)
नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १ हजार भन्दा बढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा एकैदिन देखिएको अहिलेसम्मकै सर्वाधिक बढी हो । पछिल्लो २४ घण्टामा १ हजार १६ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, धनुषा, नवलपरासी, मोरङ, बाँके र कास्कीका एक– एक पुरुष र तनहुँकी एक महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ५ सय ८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६२ दशमलव २ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ८२ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर दुई हजार ८ सय ८७ जना होम आइसोलेसनमा रहेका छन् । आजसम्म देशभर १३ हजार ९ सय २६ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमितको संख्या पाँच सय भन्दा बढी भएका जिल्लााहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्य देखिन्छ ।
लकडाउन खुलेसँगै जनसंख्या बढी चाप रहेका सहरी क्षेत्रमा कोरोना संक्रमण दर बढ्दो अवस्थामा छ । यसबाहेक प्रदेश २ का जिल्लाहरुमा पनि कोरोना संक्रमण बढ्दो छ । कोभिड–१९ का कारण गम्भीर अवस्थामा पुगेका १ सय जना बिरामी देशका विभिन्न अस्पतालका आईसीयु र भेन्टिलेटरमा रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४७ जना आईसीयु र ६ जना भेन्टिलेटरमा कोभिड–१९ का संक्रमित उपचाररत रहेका छन् । जसमा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आईसीयुमा १४ जना, युनिफाइड अस्पताल बलम्बुमा ८ जना, त्रिवि शिक्षण अस्पतालको आईसीयुमा ५ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जना, ह्याम्स अस्पताल धुम्बाराहीमा ७ जना, धुलिखेल अस्पताल धुलिखेलमा २ जना र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना आईसीयुमा उपचाररत रहेका छन् ।
कोरोना संक्रमित ६ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उपत्यका बाहिर ४८ जनाको आईसीयुमा उपचार भइरहेको छ ।


