काठमाडौं, श्रावण २२ (ई-रैवार)
सरकारले लकडाउनबारे केही दिनभित्रै मन्त्रिपरिषदबाटै निर्णय हुने बताएको छ । कोरोना संक्रमतिको संख्या २१ हजार नाघेको अवस्थामा लकडाउनको हल्ला चलिरहेकोमा सरकारका प्रवक्ता अर्थ तथा सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले यसबारे केही दिनमै निर्णय हुने बताएका छन ।
मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले काठमाडौं उपत्यका र सक्रिय संक्रमितको संख्या २ सय नाघेका जिल्लामा सवारीसाधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जनाए ।
‘कोरोना संक्रमण बढ्दै गएको छ । लकडाउन ग-यो भने पनि आमनागरिकलाई जीवन धान्न पनि समस्या हुने देखिन्छ,’ उनले भने, ‘त्यसको अध्ययन गरेर लकडाउन गर्ने वा नगर्ने बारे चाँडै निर्णय हुन्छ।’ प्रवक्ता खतिवडाले बताए ।
त्यसअघि कोरोना संक्रमण धेरै रहेका क्षेत्रमा निषेधाज्ञा र अन्यमा खुकुलो बनाउँदै लैजाने उनले बताए । लकडाउन बारे कोभिड–१९ संकट व्यवसाथन केन्द्रले सिफारि गर्नेछ र त्यसका आधारमा मन्त्रिपरिषद्को अर्को बैठकमा निर्णय हुने प्रवक्ता खतिवडाले बताए ।
केही दिन अघि स्वास्थ्य र आर्थिक क्षेत्रका विज्ञले नागरिकको स्वास्थ्य र आर्थिक जीवन सन्तुलित ढंगबाट अगाडि बढाउनुपर्ने सुझाव दिएको स्मरण गर्दै प्रवक्ता खतिवडाले लकडाउन गर्दा स्वास्थ्यसम्बन्धी अरु कारणले नागरिकको स्वास्थ्य झनै जोखिममा पर्ने भएकाले सन्तुलित भएर मिलाएर गर्नुपर्ने अवस्था आएको बताए ।
खतिवडाले गृह मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आम नागरिकलाई अनुरोध गरे ।


