कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ६४ पुग्यो

कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ६४ पुग्यो
Spread the love

 

काठमाडौं, श्रावण २२ (ई-रैवार)

कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ६४  पुगेको छ । सप्तरीमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएका तीन मध्ये एक जनामा कोरोना परीक्षण ‘पोजिटिभ’ देखिएको थियो । यो सँग कोभिड १९ बाट नेपालमा ज्यान गुमाउनेहरुको संख्या ६४ जना पुगेको हो ।

मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रुपनी गाउँपलिका–५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

मंगलबार एक्कासी ज्वरो आएको र सास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएकोमा मंगलबार राति बाटोमै मृत्यु भएको थियो ।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक झाका अनुसार कोरोनाबाट मृत्यु भएका पुरुष ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका थिए ।

हिजो बुधवार मात्रै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको थियो । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो ।

पर्सामा दुई जना

कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

उनी मधुमेहका बिरामी हुन् । साउन १८ गते पैसा तिरेर कोरोना संक्रमण परीक्षण गराएका उनमा संक्रमण पुष्टि भएको थियो ।

२० गते स्वास्थ्यमा समस्या भएपछि राति साढे १० बजेतिर अस्पताल भर्ना भएका उनमा खोकी र ज्वरो थियो । अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार भएन र विहान मृत्यु भयो ।

यस्तै १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चित्किसकले मृत घोषणा गरे ।

स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए । मृतकको घर पोखरिया–८ जगतपुर हो । उनी बिरामी हजुरआमाको स्याहारका लागि पोखरिया–९ सिमरवारी स्थित मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

मोरङमा दुई जनाको मृत्यु 

मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो । रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान १०ः३० बजे मृत्यु भएको थियो । कोरोनासँग मिल्ने लक्षण भएकाले स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ६५ वर्षीया महिलाको मृत्यु

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो । उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।