नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, सुदूरपश्चिममा थप १ सय ६८ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, सुदूरपश्चिममा थप १ सय ६८ जनामा कोरोना पुष्टि
Spread the love

 

धनगढी, साउन १७ (ई-रैवार)

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा  थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  देशभरका प्रयोगशालामा ६ हजार ९ सय ९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा आज नेपालमा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस सँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४ सय ९२ जना निको भएका छन् ।

सुदूरपश्चिममा १ सय ६८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धुलिखेल अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ६६ जना, बझाङका ५१ जना, अछामका २८ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बझाङका ४३ जना, अछामका २८ जना, कैलालीका ९ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा कैलालीका थप २७ जनामा संक्रमण देखिएको उनले बताए। यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० र बझाङका २३ गरी ५३ जनामा संक्रमण पुष्टि भएको थियो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाँच जना, दुर्गाथली र छव्वीसपाथिभेराका तीन–तीन जना र मष्टा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।  १ सय ६८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ९२ पुगेको छ ।