बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटियो

बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटियो
Spread the love

 

टीकापुर, साउन १६ (ई-रैवार) 

बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटिएको छ । भजनी नगरपालिका–८ सुनाहाफाँटादेखी करिव एक किलोमिटर दक्षिणतर्फ चक्र विकको शव अपरान्ह तिर भेटिएको हो ।

इलाका प्रहरी कार्यालय भजनीका इञ्चार्ज प्रहरी निरिक्षक जनक धामीका अनुसार  ३३ वर्षका विकको शव घटनास्थल भजनी नगरपालिका–८ सुनाहाफाँटा देखी करिव एक किलोमिटर दक्षिणतर्फ भेटिएको जानकारी दिए ।

उनीसँगै बेपत्ता भएका भजनी नगरपालिका–८ काँडाका ४२ वर्षका इश्वर शाहीको शव समेत आजै भेटिएको हो । उनको शव बिहान साढे आठ बजेतिर स्थानीयले भेटेका थिए ।

आफन्तका अनुसार मृतकद्वय टीकापुर नगरपालिकामा बस्दै आएका थिए । उनीहरु भजनी नगरपालिका–८ काँडामा रहेका परिवारका सदस्य बाढीमा फसेको खबर पाएपछि उद्दारका लागि त्यसतर्फ जाने क्रममा बाढीमा बगेर बेपत्ता भएका थिए ।

मृतक शाही र विकसँगै हेमन्त शाह र बिक्की शाह समेत बाढीमा बगेका थिए । उनीहरु दुईजनाको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । उनीहरु सबै भजनी नगरपालिका–८ काँडामा रहेका परिवारको उद्दार गर्न हिँडेका थिए ।

बाढीमा बगेर बेपत्ता भएका अर्का भजनी नगरपालिका–८ जनकपुरका ९ वर्षका बालक स्केल चौधरीको शव हिजै भेटिएको थियो । नेपाली सेनाको उद्दार टोलीले बालक चौधरीको शव घटनास्थल भन्दा तल भेटेको थियो ।