नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३० जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३० जनामा कोरोना पुष्टि
Spread the love

 

धनगढी, साउन ११ (ई-रैवार)

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय ३० जनामा कोरोना पुष्टि भएको छ । यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या १८ हजार ६ सय १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ७५ जना डिस्चार्ज भएका छन। यो सहित हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ  ।

हाल नेपालमा कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ५ हजार ४ सय ४० रहेको छ । अहिले देशभरका विभिन्न क्वारेन्टिनमा १७ हजार ९ सय ३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। त्यस्तै ३ लाख १२ हजार ४ सय २ जनाको आरडीटी परीक्षण गरिएको छ। नेपालमा कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने व्यक्तिको संख्या ४५ पुगेको छ ।

सुदूरपश्चिममा आज १७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा  पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा ३ सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका मध्ये सबैभन्दा बढि अछामको पञ्चदेवल विनायकका १ महिला र १३ पुरुष गरी १४ जना, बाजुराको खप्तड छेडेदहका वडा नम्बर १ का २ महिला र वडा नम्बर ६ का ११ वर्षीय बालक रहेको छन । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार २ सय २६ पुगेको छ, भने अहिले सम्म ८ जनाको मृत्यु भएको छ ।