सुर्खेत, साउन ८ (ई-रैवार)
विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वैशाख १ गतेदेखि यता बाढीपहिरो र चट्याङ परी २५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार–चार जना र कालीकोट तथा सुर्खेतमा दुई–दुई जनाको मृत्यु भएको छ ।
हालसम्म कर्णालीमा दुई सय ८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्का कारण यस अवधिमा करिब छ करोड ६५ लाख ५३ हजार सात सय ९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ ।


