आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने
Spread the love

 

धनगढी, साउन ८ (ई-रैवार) 

सुदूरपश्चिममा आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो।

जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सूचना जारी गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए। ‘सुरक्षा मापदण्ड अपनाएर आजदेखि जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन हुँदै छ।’

यातायात व्यवस्था विभागसँग ५०–५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमित भएपछि महासंघले यातायात सञ्चालन गर्न सहमत भएको हो।

अन्य समितिले पनि आजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशका संयोजक टेकराज जोशीले बताए।

सरकारले असार २६ गतेदेखि सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो। सुदूरपश्चिमका अधिकासं व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए।