प्रधानमन्त्री ज्यु , बोलीमा लगाम लगाउने कि ?

प्रधानमन्त्री ज्यु , बोलीमा लगाम लगाउने कि ?
Spread the love

 

काठमाडौँ, असार ३० (ई-रैवार) 

मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका व्यक्तिका कतिपय अभिव्यक्तिले देशभित्र र भारतमा समेत तरंग ल्याएको छ ।
छिमेकीसँगको कूटनीतिक सम्बन्धलाई समेत यसले प्रभावित बनाउने खालको अभिव्यक्तिले देशभित्र र भारतमा समेत तरंग ल्याएको हो ।

सोमबार बालुवाटारमा आयोजित भानु जयन्तीमा प्रधानमन्त्री ओलीले भगवान रामको जन्म भारतको अयोध्यामा नभई वीरगञ्ज नजिकैको गाउँ (अयोध्यापुरी) मा रहेको बताएका थिए । प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले देशभित्र र भारतमा समेत तरंग ल्याएको छ ।

भगवान रामको जन्म नेपालमा भएकै हो भने ओली नेतृत्वको सरकारले औपचारिक रुपमै पुष्टि सहित वाहिर ल्याउनु पथ्र्यो । भगवान रामको जन्म नेपालमै भएको हो भने यो कुराको पुष्टि नगरिकन देशको प्रधानमन्त्रीले बोल्नु हुँदैनथ्यो । अन्यथा, अप्रमाणिक एवं अपुष्ट कुरा गरेर वातावरणलाई उत्तेजित बनाउने कार्य प्रधानमन्त्रीको पदमा बस्ने व्यक्तिलाई सोभनीय हुँदैन ।

के अब हामी नेपालीले भगवान रामचन्द्र नेपालकै चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा जन्मिएका हुन भनेर धारणा बनाउनुपर्ने बेला आएको हो त ? हाम्रा विद्यालय र कलेजका पाठ्यक्रममा यसलाई समावेश गर्नुपर्ने अवस्था आएको हो ? यसको जवाफ अब नेकपा र उसको नेतृत्वमा रहेको सरकारले जनसमक्ष दिनैपर्ने भएको छ ।

नेपाल र भारतका हिन्दु धर्मावलम्बीहरुले कालान्तरदेखि मानी आएको परम्परामाथि नै असर पुग्ने गरी प्रधानमन्त्रीले यसरी हल्का ढंगबाट बोल्नु भनेको उनले आफ्नो जीवनकालमै आर्जन गरेको ओज एकैचोटि घटाउनु हो । प्रधानमन्त्रीले असान्दर्भिकरुपमा उठाएको यो विषय बेसारपानीले कोरोना निको हुन्छ भनेजस्तो ठट्टा गर्ने चिज होइन ।

भारतले वर्षौंदेखि नेपालको सीमानामा अतिक्रमण गर्दै आइरहेको छ । नेपालको भूगोल र अर्थतन्त्रमा मात्रै होइन, सामाजिक सांस्कृतिक क्षेत्रमा पनि भारतले अतिक्रमण नगरेको होइन, प्रधानमन्त्रीले भनेजस्तै सांस्कृतिक अतिक्रमण पनि हुँदै आएको छ ।
भारतीय पाठ्यक्रममा गौतम बुद्ध भारतमा जन्मेका हुन भनेर लेख्नु अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मेका हुन भन्नु यही सांस्कृतिक अतिक्रमणका उदाहरणहरु हुन ।

त्यसैगरी भारतमा नक्कली कपिलवस्तुको संरचना खडा गर्नु, नेपालको पशुपतिमा भारतीय पुजारीहरु राखिनु, भारतीय जोगीहरुले नेपालमा संस्था खडा गरेर, भक्तजनमार्फत आर्थिक शोषणहरु गर्नु इत्यादिलाई भारतबाट हुँदै आएको सांस्कृतिक अतिक्रमणकै दृष्टान्त मान्न सकिन्छ ।

तर, यसको अर्थ, मोदीले बुद्ध भारतमा जन्मिेका हुन भने, भन्दैमा अब नेपालले पनि भगवान रामचन्द्र नेपालमा जन्मेको दाबी गर्नुपर्छ भन्नु केटाकेटीहरुका लागि सुहाउला, देशको प्रधानमन्त्रीले सातचोटि सोचेर मात्र बोल्नुपर्छ । प्रश्न यो छ कि जनकपुरधाममा अयोध्याका जन्तीसँगै भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गरेका प्रधानमन्त्री ओलीमा कुन मितिबाट राम नेपालमा जन्मिएका हुन भन्ने तत्वज्ञान भयो ?

प्रधानमन्त्रीले जे पायो त्यही बोल्दै जाने, अनि त्यसमा रफु भर्नका लागि अनुसन्धान गर्दै जानुपर्ने तरिका सही होइन । विगतमा प्रधानमन्त्रीले हावाबाट बिजुली निकाल्ने, पानीजहाज चलाउने लगायतका भाषणहरु गरे । त्यसलाई पुष्टि गर्न राज्यकोष खर्च गरेर संरचनाहरु बनाइयो । अब त्यसैगरी भगवान रामको जन्मस्थान खोजी गर्न सरकारी खर्चमा कार्यदल बनाउने ? नेकपा सरकारमाथि गम्भीर प्रश्न तेर्सिएको छ ।

भोलि कसैले नेपालमा कृष्णभीर भन्ने ठाउँ छ, त्यसैले भगवान कृष्ण पनि नेपालमै जन्मेका हुन भन्यो भने त्यसैलाई प्रमाणिक तथ्य मान्न मिल्दैन । प्रधानमन्त्रीले नै बोल्दैमा त्यो प्रमाणित हुँदैन । प्रमाणित नभई प्रधानमन्त्रीले बोल्नुहुँदैन ।

कतिपय विषयहरु प्रथम दृष्टिमै खारेजयोग्य हुन्छन, त्यसमा कार्यदल बनाएर अनुसन्धान गरेर समय खेर फाल्ने काम मूर्खतापूर्ण हुन्छ । अहिले कतिपयले प्रधानमन्त्री ओलीले बोलिसकेपछि कतै रामचन्द्र नेपालमै जन्मेका पो हुन कि अनुसन्धान गरौं भन्न थालेका छन । यो धार्मिक, पौराणिक मिथक अनुसन्धान गरिराख्नुपर्ने विषय हो वा होइन ? नेकपा सरकारले स्पष्ट पारोस् ।