डोटी भदौ ११(ई-रैवार): नेपाल पत्रकार महासंघ डोटी शाखाले सञ्चार तथा सूचना प्रबिधि मन्त्री र रेडियो नेपालका कार्यकारी निर्देशकलाई ‘बिग्रेको रेडियो’ उपहार पठाएको छ । बुधबार रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल मार्फत बिग्रेको रेडियो पठाईएको हो ।
रेडियो नेपाललाई राजनीतिक आस्थाका आधारमा हस्तक्षेप गरी बिगार्ने काम गरेकोे आरोप लगाउदै विरोध स्वरुप बिग्रेको रेडियो पठाएको शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए । ‘वर्तमान सरकारले राजनीतिक आस्थाकै आधारमा अनुचित रुपमा रेडियो नेपालमा हस्तक्षेप गरिरहेको हामीलाई अनुभूती भएको छ,’ उनले भने,‘यसले ठुलो लोकप्रियता कमाएको राष्ट्रिय प्रशारण संस्था विवादित पारेर बिगार्ने काम भएको छ ।’
यसको पूर्ण दोष सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको रहेकाले उनीहरुलाई विरोधस्वरुप बिग्रेको रेडियो पठाईएको अध्यक्ष बलायरले बताए । उक्त रेडियो रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलका प्रमुख बौएलाल चौधरीलाई हस्तान्तरण गरिएको छ । रेडियो बुझेपछि चौधरीले सो रेडियो सम्बन्धीत ठाउँमा पु¥याउने प्रतिबद्धता ब्यक्त गरे ।
रेडियो नेपालले राजनीतिक बिनाकारण प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत सञ्चारकर्मीहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई निष्काशन गरेको थियो । जसको विरोधमा नेपाल पत्रकार महासंघ डोटी शाखाले भदौ ३ गतेदेखी निरन्तर आन्दोलनका कार्यक्रम गरिरहेको छ ।
सञ्चारमन्त्रीलाई ‘बिग्रेको रेडियो’ उपहार


