अछाम साउन २९(ई-रैवार) : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवको घुस प्रकरणमा अनुसन्धान थालेको छ । सब–ईन्जिनियर यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरिएको प्रकरणमा अनुसन्धान थालेको हो।
सञ्चार माध्यममा सार्वजनिक भएका समाचारका आधारमा मुद्दा दर्ता गर्दै उक्त प्रकरणको अनुसन्धान सुरु गरिएको अख्तियारको महेन्द्रनगर कार्यालयले जनाएको छ। अछामको एउटा सडक निर्माणका क्रममा उपभोक्ता समितिबाट कमिसन लिएका सब–इन्जिनीयर यादवले उक्त रकम फिर्ता गरेका थिए।
प्राविधिकसँग आक्रोशित बनेका केही उपभोक्ता समितिका पदाधिकारीहरुले यादवलाई नियन्त्रणमा लिएर घुस खाएको रकम फिर्ता गराएका थिए। यादवले प्रदेश सरकारबाट गएको अछामको तुर्माखाँदस्थित भैरवस्थान–रहफ ग्रामीण सडक उपभोक्ता समितिबाट उक्त रकम घुस लिएको बुझिएको छ।
उपभोक्ता समितिका अध्यक्ष गणेश शाहीले पनि सब–ईन्जिनियर यादवले तीन लाख मागेको स्विकार गरेका छन्। ‘सडक निर्माणका क्रममा प्रयोग गरिएको डोजरको मात्रै ३४ लाख विल आएको थियो,’ उनले भने, ‘डोजर सञ्चालकसंग सब–ईन्जिनियर यादवले बढी भुक्तानीका लागि कागजात तयार पारिदिने भन्दै तीन लाख मागे, तर २२ लाख भुक्तानीको मात्रै कागज बनेपछि कुरा बाहिरिएको हो।’
उनले चट्टान मात्रै भएको क्षेत्रमा काम गर्दा पनि धेरै कम भुक्तानी दिएपछि उपभोक्ता समिती समस्यामा परेको बताए। सब–ईन्जिनियर यादवले भने उपभोक्ताहरुले गलत आरोप लगाएको बताउँदै आएका छन्।
तीनलाख घुस प्रकरणको अख्तियारद्वारा अनुसन्धान शुरु


