काठमाडौं, असार। लामो समयपछि नेपालमा धान–चामल आयात ठूलो परिमाणले घटेको छ । सरकारी तथ्याङ्कअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्ष (आव) को जेठसम्म ४४ करोड ७५ लाख किलो कम धान, चामल र कनिका आयात भएको पाइएको हो । आयात परिमाण घटेसँगै धान–चामलका लागि विदेशिने रकमसमेत १६ अर्ब १० करोड ५६ लाख २८ हजार रुपैयाँले घटेको छ ।चालु आर्थिक वर्षको जेठसम्म नेपालमा २९ अर्ब १९ करोड १८ लाख ९८ हजार रुपैयाँको धान, चामल र कनिका नेपाल आयात भएको छ । गत वर्ष यसै अवधिमा ४५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ बराबरको १ अर्ब ०८ करोड किलो धान चामल नेपाल भित्रिएको थियो ।यो वर्षको जेठ मसान्तसम्म ६३ करोड ६२ लाख किलो धान–चामल आयात भएको भन्सार विभागको तथ्याङ्क छ।
चामल आयातमा ठूलो गिरावट
भन्सार विभागका अनुसार यस अवधिमा चामलको आयातमा ठूलो गिरावट आएको छ । गत वर्षको ११ महिनाको तुलनामा चामलको आयात १५ अर्ब रुपैयाँभन्दा बढीले घटेको हो ।गत वर्ष जेठसम्म २७ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको ४९ करोड किलो चामल नेपाल भित्रिएकामा चालु आवको जेठसम्म १२ अर्ब ६६ करोड रुपैयाँ बराबरको १८ करोड ५८ लाख किलो मात्रै चामल नेपाल भित्रिएको छ ।परिमाणका हिसाबले चामलको आयात गत वर्षको तुलनामा ३० करोड ७२ लाख किलो भन्दा धेरैले घटेको देखिन्छ ।
धान आयात उस्तै, बिउ आयात घट्यो
विभागका अनुसार चामलसँगै धानको बिउको आयात पनि घटेको छ । गत वर्षको तुलनामा धानको आयात भने करिब करिब उस्तै देखिएको छ । यस अवधिमा १५ अर्ब ९४ करोड रुपैयाँ बराबरको ४४ करोड ८ लाख किलो धान नेपाल भित्रिएको छ । गत वर्ष १५ अर्ब ९२ करोड रुपैयाँको ५४ करोड किलो धान नेपाल भित्रिएको थियो ।यस्तै, धानको बिउ आयात भने घटेको छ । गत वर्ष ८७ करोड ५ लाख रुपैयाँ बराबरको ५१ लाख किलो धानको बिउ नेपाल भित्रिएको थियो । तर यस वर्ष २९ करोड ६३ लाख रुपैयाँ बराबरको ६ लाख ५९ हजार किलो धानको बिउ नेपाल भित्रिएको छ ।
धान–चामलको आयात घट्यो


