प्रधानमन्त्री देउवा र प्रचण्डबीच एमसीसी अनुमोदन बारे छलफल, जुटेन सहमति

प्रधानमन्त्री देउवा र प्रचण्डबीच एमसीसी अनुमोदन बारे छलफल, जुटेन सहमति
Spread the love

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । बिहीबार भएको भेटवार्तामा संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताका विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री देउवाका सञ्चार प्रमुख गोविन्द परियारका अनुसार एमसीसी परियोजना कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो । “एमसीसी अनुमोदन गर्नेबारे उहाँहरूबीच कुराकानी भयो,” उनले भने ।

बालुवाटार स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहालले तत्कालका लागि एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । देउवाले भने अस्विकार गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले गरेको आग्रहलाई प्रधानमन्त्री देउवाले मान्न नसकिने बताएका छन् ।

‘अध्यक्षले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकियामा लैजानबाट रोक्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले भोट हाल्ने भए हाल्नु । एमसीसी अनुमोदनको प्रक्रिया रोकिँदैन भन्नुभयो, ‘ अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीचको कुराकानी उदृत गर्दै दाहालको सचिवालयका एक सदस्यले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढाउने पक्षमा छन् । प्रधानमन्त्रीले भेटमा दाहालमार्फत सत्ता गठबन्धनले एमसीसीका पक्षमा भोट हाल्न आग्रह गरेको सचिवालयले जनाएको छ । माओवादी भने आफ्नो अडानमा यथावत भइ पूर्ववत् निर्णयमै रही एमसीसीको विपक्षमा रहने समेत दाहालको सचिवालयले बतायो ।

आजै संसद्‌मा एमसीसीमाथि छलफल हुँदैछ ।