सर्वदलीय बैठक सकियाे, आयोगले स्थानीय तहको निर्वाचनको नयाँ मिति प्रस्ताव गर्ने

Spread the love

काठमाडौं : स्थानीय तहको चुनावबारे आज निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गरेको छ । बैठक केहीबेर अगाडि सक्किएको आयोगका प्रवक्ता शालीकराम शर्मा पौडेलले जानकारी दिएका हुन ।

आजको सर्वदलीय बैठकमा स्थानीय तह र राष्ट्रिय सभाको चुनाव तथा मतदाता नामावली अद्यावधिकबारे छलफल भएको उनले बताए। बैठकमा निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ ।

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको आयोगले शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका थिए ।

“स्थानीय तहको निर्वाचनको विकल्प छैन, समयमै गर्नुपर्छ,” प्रमुख निर्वाचन आयुक्तको भनाई उद्धृत गर्दै प्रवक्ता पौडेलले भने, “कानुनबमोजिम आयोगलाई प्राप्त १२० दिन घर्किरहेको छ, माघको पहिलो हप्तासम्म मिति घोषणा गर्नुपर्छ भन्नुभएको छ ।”

आयोगले यसअघि नै सरकारसमक्ष वैशाख २२ गते स्थानीय तह निर्वाचन गर्न प्रस्ताव गरेका थियो । तर, सरकारले मिति घोषणा नगरेपछि आयोगले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने १७ दलसँग छलफल गरेका हो । छलफलपछि आयोगका प्रवक्ता पौडेलले आयोगले सरकारसमक्ष स्थानीय तह निर्वाचनको नयाँ मिति प्रस्ताव गर्ने जानकारी दिएका छन् ।

“आयोगले राजनीतिक दलहरूसँग छलफल गरेपछि उहाँहरूले अत्यन्तै रचनात्मक सुझाव दिनुभएको छ,” आयोगका प्रवक्ता पौडेलले भने, “अव छिट्टै आयोगले सरकारसमक्ष स्थानीय तह निर्वाचनको तिथि प्रस्ताव गर्ने छ ।”

संविधानको धारा २२५ मा स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र गाउँसभा र नगरसभाको निर्वाचन गरिसक्नुपर्ने उल्लेख छ । तर ऐनमा पहिलो चरणमा निर्वाचन भएको ७ दिनभित्र कार्यकाल शुरु भएको मानिने उल्लेख छ । त्यसैले स्थानीय जनप्रतिनिधिहरुको कार्याकाल २०७९ जेठ ५ गते सकिने आयोगले बताएको छ ।

त्यसपछि स्थानीय जनप्रतिनिधिको म्याद थप्न पनि नमिल्ने र, उनीहरुले गर्ने काम अरुले गर्न पनि नमिल्ने भएकाले वैशाखमा चुनवा गर्नुपर्ने आयोगको तर्क छ ।

निर्वाचन आयोगले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय चुनाव १४ वैशाखमा एकै चरणमा गर्ने प्रस्ताव गरेको थियो । दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय चुनाव गर्न सकिने आयोगको प्रस्ताव छ ।