काठमाडौं : हतारोमा गरिएको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज पनि चार खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशविरुद्ध खेल्नेछ भने दोस्रो खेलमा प्रदेश दुईले वाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
त्रिवि क्रिकेट मैदानमा पुलिस क्लबले कर्णालीविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मीले भने टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मीले पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा लुम्बिनी प्रदेशले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको नेपाल पुलिस शीर्ष स्थानमा छ । तीन खेलबाट तीन अंक जोडेको त्रिभुवन आर्मी दोस्रो स्थानमा छ । समान दुई अंक जोडेका सुदूरपश्चिम र कर्णाली प्रदेश रनरेटका आधरमा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । प्रदेश–१ ले एक अंक जोडेको छ ।
बिहीबार त्रिभुवन आर्मी र प्रदेश–१ बीच ओसिलो आउटफिल्डका कारण खेल सम्भव नभएपछि अंक बाडेका थिए । समूह ‘बी’मा तीन खेलबाट ६ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ । समान दुई अंक जोडेका वाग्मती, लुम्बिनी, र प्रदेश–२ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । प्रदेश–२ ले तीन खेल खेलेको छ भने वाग्मती र लुम्बिनीले समान दुई खेल खेलेका छन् । गण्डकी प्रदेशले अंक जोड्न सकेको छैन ।


