सुदूरपश्चिम प्रदेशमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ६३ जनाको पीसीआरमार्फत र २५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार आज २ हजार २०५ जनाको परीक्षण गरिएको जनाएको छ। आज संक्रमण पुष्टि भएका २५४ जनामध्ये भारतबाट स्वदेश फर्केका २२७ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १११, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १०५ झुलाघाट नाकाबाट फर्केका ६ र पुलघाट नाका दार्चुलामा ५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा २५४ जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ।

विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण समुदायस्तरमा संक्रमण उच्च हुने खतरा बढेको छ । प्रदेशको चार वटा नाकाबाट दैनिक फर्किरहेकामध्ये कैयौं व्यक्ति परीक्षण नगराइ घरतर्फ गइरहेकाले सङ्क्रमण समुदायमा फैलिने खतरा बढेको हो ।

भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने गरेको छ। सो क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ। लक्षण नभएर पनि संक्रमण पुष्टि भएका र एन्टिजेन परीक्षण नेगेटिभ आएका नागरिकलाई भने सिधै घर पठाउने गरिएको छ।