काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आमन्त्रण गरेपछि देउवा भारत भ्रमणमा जान लागेका हुन् ।
गुजरात फेष्टिभलमा सहभागी हुनका लागि मोदीले पत्र लेखेर आमन्त्रण गरेपछि देउवालाई बोलाएको नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले जानकारी दिएका हुन् ।
फेष्टिभलमा सहभागिताका लागि आमन्त्रण गरिएकाले स्टेट भिजिट भने हुने/नहुने निश्चित भइनसकेको महतले जानकारी दिए । गुजरातमा हुने ‘भाइब्रेण्ट गुजरात ग्लोबल समिटमा’ सहभागी हुन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको बालुवाटार स्रोतले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको गृहराज्य गुजरातमा जनवरी १०–१२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा विभिन्न देशका सरकार प्रमुखहरुलाई निम्तो गरिएको बताइएको छ । जनवरी १० मा भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।
‘भारतबाट कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा आएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘अहिलेसम्म प्रधानमन्त्री जाने भन्ने नै छ । त्यसको तयारीमा परराष्ट्र मन्त्रालय जुटेको छ ।’
प्रधानमन्त्री देउवाको भारत भ्रमण राजकीय भने होइन । तर सम्मेलनका क्रममा भारतीय समकक्षीसँग भेटवार्ता हुनेछ । ‘सम्मेलनअघि मोदीसँग भेट हुन्छ वा सम्मेलनपछि भन्नेबारे भने अझै तय भइसकेको छैन,’ परराष्ट्र स्रोतले भन्यो, ‘तर छलफलका एजेण्डाबारे हामी परामर्शमा छौं ।’


