काठमाडौँ :
नेपाली कांग्रेसमा संस्थापनइतर समूहको बैठक आज बस्दैछ । आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज फेरि बैठक राखेका हुन्।
कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरिरहेका छन् ।
बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी गर्न पूर्वमहामन्त्री सिंह निवास ठमेलस्थित चाक्सीबारीमा आज दिउँसो १ बजेका लागि केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ।
सभापतिमा चुनाव लड्ने दाबी गरिरहेका नेपाली काँग्रेसका चारजना नेताहरु पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई आपसमा मिलेर एकल उम्मेदवारी तय गर्न युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिएका छन् ।
केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र सम्भव भएसम्म महाधिवेशन प्रतिनिधिका सुझाव लिएर सर्वसम्मत रूपमा सभापति तय गरिने पौडेलनिकट एक नेताले बताए।
सभापतिमा पौडेलसहित शशांक, प्रकाशमान र शेखर आकांक्षी छन्। प्रकाशमानले त आजदेखि सम्पर्क कार्यालय नै खोलेर नेता तथा कार्यकर्तासँग भेटघाट थाल्दैछन्।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर २४ गतेदेखि सुरु हुँदैछ। महाधिवेशनमा सभापति पदको लागि सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिने तयारी गरिरहँदा संस्थापन इतर समूहले पनि सभापतिको साझा उमेदवार उठाउने प्रयास गरेको छ।
संस्थापन इतर समूहले साझा उम्मेदवार उठाउन प्रयास गरेपनि धेरै नेताहरु आकांक्षी देखिदा मुस्किल हुने देखिएको छ। सभापति देउवाले भने सिटौला समूहलाई पनि आफुलाई सभापति पदमा सहयोग गर्न आग्रह गरेका छन्। देउवाले अन्य समूहलाई पनि सहयोगका लागि आग्रह गरेका छन्।


