चिकित्सक संघद्वारा डा. केसीमाथि गैरमानवीय कार्य तत्काल रोक्न माग

चिकित्सक संघद्वारा डा. केसीमाथि गैरमानवीय कार्य तत्काल रोक्न माग
Spread the love

 

काठमाडौं, भदौ १३ (ई-रैवार) 

नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीमाथि प्रहरीबाट भइरहेको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ। चिकित्सक संघले डाक्टर केसीलाई आफू बसेको ठाउँबाट बाहिर जान, हिँडडुल गर्न सुक्षाकर्मीले रोकेको घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो कार्य रोक्न माग गरेको हो ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गरी चिकित्सक संघले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिनाकारण सुरक्षा घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरूसँग सम्पर्क गर्न नदिने अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य भइरहेको जनाएको छ ।

डाक्टर केसीलाई बुधबार प्रहरीले घेराबन्दी गर्दै भित्र–बाहिर गर्न दिएको थिएन। डाक्टर केसी साउन जुम्लामा छन् । उनी दुर्गमका जनताको घर–घरमा पैदल हिँडेरै स्वास्थ्य सेवा दिइरहेका छन् । उनी विभिन्न चार बुँदे माग राख्दै सत्याग्रहको तयारीमा रहेका छन् ।

डाक्टर केसीका यी चार माग रहेका छन :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको पहिलो माग छ । उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन सुरु गर्न, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन उनले माग गरेका छन् ।

१० साउन ०७५ मा भएको सम्झौता कार्यान्वयन गरी चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने उनको दोस्रो माग छ । चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्न उनले माग गरेका छन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने उनको तेस्रो माग छ । विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाबअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न उनले माग गरेका छन् ।

अछामको बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्न पनि उनले माग गरेका छन् ।