काठमाडौं, मङ्सिर १५ (ई-रैवार)
सर्वोच्च अदालतमा आज बुधबारबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आएकोमा अब पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो।
गोला प्रक्रियाबाट पेसी तोकिने भएसँगै प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा स्वेच्छाचारी भएको र ‘सेटिङ’मा इजलास गठन गर्ने गरेको आरोपमा बारले गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न माग गरेको थियो । सोही माग अनुसार आजबाट गोला प्रक्रियाबाट पेसी तोकिने छ ।
अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ। वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन्। आजबाट विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्नेछन् । र, मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् ।
कसरी तानिन्छ गोला ?
कार्यविधिअनुसार इजलास र मुद्दाका लागि छुट्टाछुट्टै गोलाको व्यवस्था छ । ती गोलालाई अपारदर्शी थैलोमा राखिने र प्रधानन्यायाधीशपछि वरिष्ठताका आधारमा पालैपालो अन्य न्यायाधीशहरूले तान्ने छन् । न्यायाधीशले तानेको गोलाको रेकर्ड कम्प्युटर र सीसी क्यामेरामा सुरक्षित राखिनेछ । बृहत पूर्ण वा पूर्ण इजलास, एकल र संयुक्त इजलासका लागि छुट्टाछुट्टै गोला र थैली हुनेछन् ।
बृहत पूर्ण वा पूर्ण इजलासका लागि अदालतमा उपस्थित न्यायाधीशको संख्या बराबरका गोटी थैलीमा राखिनेछ । बृहत पूर्ण वा पूर्ण इजलासका लागि तोकिएका गोलामा ‘१’, ‘२’ अंक लेखिएको हुनेछ । एकल इजलासका लागि बनाइने गोलामा ‘अ’, ‘आ’ लेखिएको हुनेछ । बृहत पूर्ण र एकल इजलास गठन भइसकेपछि मात्र संयुक्त इजलासका लागि गोला तान्नुपर्नेछ । संयुक्त इजलासका लागि इजलासको संख्या अनुसारका संकेत भएका गोटी राखिनेछ ।
गोला तानेर इजलास गठन भइसकेपछि न्यायाधीशले मुद्दाका गोला तान्ने छन् । मुद्दाका लागि ‘क’, ‘ख’ अंकित गोला बनाइनेछ ।
हेर्दाहेर्दै र निर्णय सुनुवाइको मुद्दामा पनि गोला तानिनेछ ।


