एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक, गैँडाको हातमा झन्डा

Spread the love

काठमाडौं, कात्तिक २६ (ई-रैवार)

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। महाधिवेशनको लोगोमा एमालेको चुनाव चिन्ह सूर्य राखेको छ भने छेउमा उभिएको एकसिङे गैंडाले ‘हात’मा हसियाँ-हथौडा अंकित झण्डा बोकेको छ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन्।

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तिमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने सिष्टमबारे जानकारी गराएका थिए।

एमाले संगठन विभागका सदस्य ज्ञानबहादुर भुजेलले पछिल्लो १५ दिनमा ७५ हजार संगठित सदस्य थपिएको बताए । शुक्रबार दिउँसोसम्ममा ८ लाख १० हजार संगठित सदस्य पुगेको बताए । गत कात्तिक १२ गते भएको केन्द्रीय कमिटी बैठकमा पार्टी सदस्य ७ लाख ३४ लाख भएको जानकारी गराइएको थियो ।

महाधिवेशनको प्रतिनिधि शनिबार एकैपटक छनोट गर्ने घोषणा गरेको एमालेको संगठित सदस्य संख्या अन्तिम टुंगो शुक्रबार साँझसम्म लागिसकेको छैन । तर अझै पनि सुदूर पश्चिमको अछाम, काठमाडौंसहित प्रदेश नम्बर २ का केही जिल्लाको संगठित सदस्यताको विषयमा अन्तिम नामावली तयार पार्न बाँकी रहेको स्रोतहरुले जनाएका छन् ।

‘अछाम, प्रदेश नम्बर २ का केही जिल्ला र काठमाडौं जिल्लाको संगठित सदस्यको अन्तिम रुपमा दिन बाँकी रहेको छ’ भुजेलले भने, ‘ शुक्रबार रातिसम्ममा सबै काम सकेर नामावली सबै जिल्लामा पठाइसक्छौं ।’ पछिल्लो समयमा सुदूरपश्चिम, प्रदेश २ मा संगठित सदस्यताको विषयमा बढी समस्या देखिएको थियो ।

सुदूरपश्चिमका जिल्लाहरुमा संगठित सदस्यको जथाभावी वितरण गरेको भन्दै कतिपय ठाउँमा असन्तुष्टिसमेत व्यक्त भएको छ । कैलाली २ का सांसद तथा केन्द्रीय सदस्य झपट रावलले कैलालीमा जथाभावी सदस्यता वितरण गरेर पार्टी कब्जा गर्न खोजिएको बताए । ‘एकीकरण प्रक्रियाबाट आएका भन्दै १० हजार संगठित सदस्य वितरण गरिएको छ । नेकपा हुँदा माओवादीले भनेको संख्या पनि त्यही थियो,’ रावलले भने, ‘यो पार्टी कब्जाका लागि भएको हो ।’

रावलका अनुसार उनकै निर्वाचन क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिकामा एकता प्रक्रियाबाट एक माओवादी कार्यकर्तामात्रै अहिले एमालेमा रहेका छन् । तर, सो नगरपालिका १ हजार ६ सय माओवादीबाट एकता प्रक्रियामार्फत आएको देखाइएको छ । ‘सदस्य को हुन भन्ने कुनै विवरण छैन । खाली नाममात्रै छ बाबु आमा को हो ? ठेगाना कहाँ हो भनेर पनि लेखिएको छैन’, रावलले भने, ‘जिल्ला कमिटीमा रहेका साथीहरुको नाम काटिएको छ ।’

एमालेको राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन्। त्यसका लागि भोली (शनिबार) देशभर प्रतिनिधि चयन हुँदैछ।