महरा हत्या प्रकरण : आरोपित चारैजना पुर्पक्षका लागि कारागार चलान

Spread the love

बैतडी, कात्तिक १६ (ई-रैवार) 

बैतडीका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिसिंह महरालाई कारगार चलान गरिएको जानकारी दिएका हुन ।

सुर्नया गाउँपालिका ४ लेकडाँडाका महराको गएको असोज ६ गते राती हत्या भएको थियो । महराको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र अनुसन्धान सकिएपछि सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरेको प्रवक्ता ओझाले जानकारी दिए ।

उनीहरु चारै जनालाई गएको बिहीबार पुर्पक्षका लागि कारागार पठाइएको ओझाले जानकारी दिए । हत्या आरोपितमाथि प्रहरीले आफ्नो अनुसन्धान सकाएको छ भने अदालतबाट अन्तिम फैसला हुन भने बाँकी रहेको छ ।