लुम्बिनी, कात्तिक १४ (ई-रैवार)
राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार लुम्बिनी पुगेकी छन् । राष्ट्रपति भण्डारीसँगै कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी रहेका छन् ।
बुद्धजन्मस्थल लुम्बिनीमा राष्ट्रपति भण्डारीले बज्रयान बिहारको अवलोकन, मायादेवी मन्दिरमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिएका छन् ।
शनिबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, विभिन्न मन्त्रालयका सचिव लुम्बिनीमा आइपुगेका थिए ।
लुम्बिनीको कार्यक्रम सकिएपछि राष्ट्रपति भण्डारीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइट जेड बुद्धमूर्तिको अनावरण गर्ने कार्यक्रम छ । सो बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनको पहलमा बर्माबाट ल्याइएको हो ।
फाउण्डेसनको निमन्त्रणामा स्पेनको एक्सत्रेमादुरा प्रदेशका सभामुख बेलानका मार्टिन डेलगाडो, संस्कृतिमन्त्री नुरिया फलोरेश रेडोन्डोसहित प्रतिनिधिमण्डल पनि लुम्बिनीमा आइपुगेको छन् ।


