काठमाडौं, वैशाख ६ (ई-रैवार)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको टाङमुनि छिरेको आरोप लगाएका छन् । नेविसंघको ५२ औं स्थापना दिवसका अवसरमा नेविसंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सो कुरा बताएका हुन्।
‘हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वम् शरणम् भएका छन्’ उनले भने, ‘भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’
देउवाले कम्युनिस्टहरु राष्ट्रवादी नभएर अवसरवादी रहेको पनि टिप्पणी गरे । ‘यिनीहरु राष्ट्रवादी होइनन्, यिनीहरु खाली अपर्चुनिस्ट हुन्’ उनले भने – राष्ट्रवादी बनेर चुनाव जितेका ओली अहिले भारतको टाङमुनि छिरेको छन् ।
अहिले पनि परिस्थिति आफ्नो नेतृत्वमा सरकार बन्ने खालको नभएको भन्दै देउवाले आफूले परिस्थिति हेरिरहेको बताए । ‘हेर्दै जाऔं परिस्थिति मैले धेरै आशा राखेको पनि छैन, सम्भावना पनि छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन्’ देउवाले भने ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन नसक्ने देउवाले बताए ।
‘प्रचण्डले फिर्ता लिएको छैन, प्रचण्डले फिर्ता नलिएसम्म बहुमतको सरकार छ, बहुमतको सरकार हुँदासम्म के गर्ने’ उनले प्रश्न गरे ‘प्रचण्डले फिर्ता लिए पनि मधेसी पार्टीले उसलाई समर्थन गर्न खोजिरहेका छन् ।
आफूले ओली सरकार हटाउन खोजेको उनले बताए। कोरोना महामारीबीच पार्टीको महाधिवेशन गर्ने चुनौती रहेको देउवाको भनाइ थियो।


