काठमाडौं, कार्तिक १० (ई-रैबार)
चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आएको हो । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए ।
विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आएको खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखि आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको बताए ।
हालसम्म नेपालले कुल १ करोड ५३ लाख ४२ हजार एक सय ९८ डोज खोप लगाइसकेको छ । यस्तै हालसम्म नेपालले कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप प्राप्त गरेको छ ।


