बैतडीमा पहिरोले घर पुरिदा बालकसहित तीनजनाको मृत्यु

Spread the love

बैतडी, कार्तिक २ (ई-रैवार)

पहिरोले घर पुरिदा बैतडीमा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर शिवनाथ गाउँपालिका–६ मा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुनेमा स्थानीय भालु पार्कीका बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया नाती सोम पार्की रहेकका छन् ।

उनीहरुको मंगलबार करिब तीन बजेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको भएपनि फोन सम्पर्क नहुँदा ढिलो गरेर खबर प्राप्त भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् ।

खबर पाउन बित्तिकै पुगेको प्रहरी टोलीले तीनै जनाको शव निकालेर परीक्षणका लागि अस्पताल पठाएको छ ।

त्येसैगरी आजै डोटी र डडेलधुरामा वर्षाले घर भत्किदा दुई बालक सहित तिन जनाको मृत्यु भएको थियो । लगातारको वर्षाका कारण घर भत्किदा सायल गाउँपालिका–६ का बिरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार घरमा च्यापिएर उनका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको हो । त्येसैगरी डडेलधुरामा पहिरोले घर पुुरिदा एक जनाको मृत्यु भएको छ ।

लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।