आज देशभर वर्षा : हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Spread the love

काठमाडौं, कार्तिक १ (ई-रैवार)

आज देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

यस्तै प्रदेश १ र बागमती प्रदेशका केहि स्थान तथा प्रदेश २ का थोरै स्थानमा मेघगर्जन र चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने भएको हो ।

आज दिउँसो सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, प्रदेश नं २, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम र बाँकी हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम, लम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको पनि सम्भावना रहेको छ । त्यसैले सजग रहन विभागले आग्रह गरेको छ । विशेषतः यात्रा र कृषि कर्म गर्दा मौसमको सूचना हेरी सजग रहन विभागले आग्रह गरेको छ ।

मनसुन बाहिरिए पनि नयाँ मौसम प्रणाली विकास भएका कारण पुनः वर्षा र हिमपातको सम्भावना रहेको हो ।