साफ च्याम्पियनसिप : आज दुई खेल, नेपाललाई उछिन्ने बङ्गलादेशको दाउ

Spread the love

काठमाडौँ,  असोज २६  (ई-रैवार) 

माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपमा आज (बिहीबार) दुई खेल हुँदै छन् । समूह चरणको खेलअन्तर्गत आज चारवटा टिमले एक–अर्काविरुद्ध खेल्न लागेका हुन् ।

आज सर्वाधिक धेरै सात पटकको विजेता टोली भारतका साथै साविक विजेता माल्दिभ्स पनि प्रतिस्पर्धामा छन् । दुवै खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

भारतले अपराह्न ४ः४५ श्रीलङ्कासँग खेल्नेछ । पहिलो खेलमा बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले अङ्क तालिकाको पुछारमा रहेको श्रीलङ्कासँग खेल्न आँटेको हो । दुवै खेलमा पराजित श्रीलङ्का अङ्कविहीन रहँदै पुछारमा छ ।

यस्तै, राति ९ः४५ बजे घरेलु टिम माल्दिभ्सले बङ्गलादेशको सामना गर्दै छ । बङ्गलादेश चार अङ्कसहित दोस्रो स्थानमा छ । आज माल्दिभ्समाथि जित निकालेर नेपाललाई उछिन्दै शीर्ष स्थानमा उक्लिने छ । नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ । नेपालको तेस्रो खेल भने आइतबार छ ।

अङ्कविहीन माल्दिभ्स भने पुछारमा छ । उसले पहिलो खेलमा नेपालसँग १–० गोलको हार बेहोरेको थियो ।