झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउँदै, को-को हुँदैछन् मन्त्री ?

Spread the love

धनगढी असोज २२ (ई-रैवार)

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । आफू प्रधानमन्त्री बनेको तीन महिनामा शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

कुनै अप्रत्यासित घटनाक्रम विकसित नभए सत्ता गठबन्धनमा बिहीबार बनेको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो । सत्ता गठबन्धनका दलहरुबाट मन्त्री बन्नेहरुको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बालुवाटारमा बिहीबार भएको सहमितअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रीय कि फिर्ता भन्ने विवादले शुरुवातमा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएकोमा पछिल्लो पटक मन्त्रालय भागवण्डाले गठबन्धनमा सकस भएको थियो ।

आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्नेहरुको नाम टुंगो लगाउन नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त छन् । नेकपा माओवादी केन्द्रले भने बुधबारै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको थियो । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएको थियो ।

सहमतिअनुसार सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने छ । कांग्रेसले यसअघि नै गृह, कानुन र परराष्ट्रय मन्त्रालय लिइसकेको छ ।

कांग्रेसबाट को-को हुँदैछन् मन्त्री ?

प्रधानमन्त्री देउवाले यसअगाडि बालकृष्ण खाणलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइसकेका छन्। उनीहरू सबै देउवानिकट हुन्।

आज थप गर्न लागिएका मन्त्रालयमा भने देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि समेट्ने भएका छन्।

पौडेल पक्षबाट दिलेन्द्रप्रसाद बडु र मिनेन्द्र रिजाल मन्त्री बन्ने तयारीमा छन्। पौडेल पक्षलाई रक्षा र कानुन मन्त्रालय दिने तयारी देउवाको छ। बडुलाई पौडेल र रिजाललाई महामन्त्री शशांक कोइरालाले मन्त्री बनाउनुपर्ने बताएका हुन्।

यसअगाडि पौडेलले आफूहरूलाई कम्तिमा ३ मन्त्रालय दिइनुपर्ने माग प्रधानमन्त्री देउवासँग राखेका थिए। तर देउवाले दुई मन्त्री मात्र दिन सकिने बताएका थिए। पौडेल पक्षबाट तेजुलाल चौधरी पनि मन्त्री हुने चर्चा थियो।

यस्तै अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी प्रधानमन्त्रीको रहेको उक्त स्रोतले जानकारी दिएको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मीलाई पठाउने तयारी छ। रेग्मी सभापति देउवानिकट हुन्। पूर्वमहामन्त्री सिटौला पक्षबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी छ। सिटौला पक्षलाई युवा तथा खेलकूद मन्त्री दिने तयारी देउवाको छ। मन्त्री नियुक्त गर्ने बेलासम्म यी नामहरू हेरफेर पनि हुनसक्ने स्रोत बताउँछ।

कांग्रेसले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि आफैँसँग राखेको छ। यो मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राख्ने तयारी गरेका छन्।

नेकपा माओवादी केन्द्रबाट को-को हुँदैछन् मन्त्री  ?

ऊर्जा र अर्थ मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, शिक्षा विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने छ । माओवादीले सरकारमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय बुधबार नै गरिसकेको छ । यद्यपि कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । हाल माओवादीका जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् ।

रामकुमारीलाई स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव, नेकपा एसबाट को-को हुँदैछन् मन्त्री  ?

नेकपा (एकीकृत समाजवादी) ले स्वास्थ्य मन्त्रीमा रामकुमारी झाँक्रीलाई पठाउने तयारी गरेको छ । अहिले केहीबेरमा बस्ने सचिवालय बैठकले यसको निर्णय गर्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा विरोध खतिवडा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ (किसान) लाई मन्त्री बनाउने प्रस्ताव पेश भएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आज बिहान फेरि बैठक बसेर र आकांक्षीहरुसँग छलफल गरेर मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने जानकारी दिए ।

जसपाबाट को-को हुँदैछन् मन्त्री  ?

जसपा भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिएर सरकारमा सहभागी हुने छ ।

जसपाका नेताहरूबीच मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाममा अनौपचारिक सहमति भएको छ। जसपाका एक नेताका अनुसार राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद शाह रहेका छन्।

उनीहरूले पाउने मन्त्रालयको टुंगो भने लागेको छैन। गठबन्धनका दलहरूबीच जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएको छ। ‘मन्त्रीहरूको नाम लगभग टुंगिएको छ। औपचारिक नाम सार्वजनिक हुन बाँकी छ,’ जसपाका ती नेताले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापित गरी कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री देउवासँगै कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले शपथ ग्रहण गरेका थिए ।

त्यसपछि गत साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई र यही असोज ६ गते परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका देउवाले बाँकी सबै मन्त्रालयहरुको भार आफैंले बोकेका थिए ।

असार २९ गते गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले ८८ दिनसम्म पाँच मन्त्री र एक राज्यमन्त्रीका भरमा सरकार चलाउदै आएका थिए । लामो समयदेखि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा पार्टीभित्रै देउवाको आलोचना हुने गरेको छ ।

कांग्रेसभित्र संस्थापन र रामचन्द्र पौडेल पक्षबीच मन्त्रालयको विषयमा गलफत्ती जारी नै छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न पाइन्छ ।